Tuesday, November 11, 2014

बुद्धको जन्मस्थलमा निरर्थक विवाद

दामोदरप्रसाद आचार्य
 
लुभेन, बेल्जियम - विश्वविभूति तथा "दि लाइट अफ एसिया" को नामबाट सुपरिचित भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको तथ्य भारतिय मौर्य सम्राट अशोकले २४९ बि. सी. मा बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गरेर दर्शनार्थीको रुपमा गरेको आफ्नो भ्रमणको स्मृतिमा स्तम्भ निर्माण गरि स्तम्भमा ऐतिहासिक पाली भाषा तथा ब्राम्ही लिपिमा "शाक्यमुनी बुद्धको जन्म यहाँ भएको थियो र म वहांको दर्शन गर्न आफ्नो राज्याभिषेकको २० वर्ष पछि आएको हुँ" भनेर लेखिएको अभिलेखले प्रमाणित भइसकेको सन्दर्भमा (जुन अशोक स्तम्भ अहिले पनि लुम्बिनी, नेपालमा मौजुद रहेको अवस्थामा)केहि भारतिय तथा केहि भारतसंग सम्बन्ध गासिएका पुरातत्वविद्, लेखक,इतिहासविद, फिल्म निर्माता तथा कलाकारहरुले सत्यका पर्यायवाची बुद्धको जन्मस्थललाई विवादित गराउने दुष्प्रयास गरिरहेका छन् ।  
 
भगवान गौतम बुद्धको जन्म ६२३ बी. सी. मा शाक्य गणतन्त्र, कोसाला राजधानी, कपिलवस्तु नजिकको लुम्बिनीमा भएको थियो र त्यो लुम्बिनी नेपालको दक्षिणी भागको रुपन्देही जिल्लामा पर्दछ भन्ने विषय बारम्बार लेख्नु पर्ने र भनिरहनु पर्ने विषय होइन । यद्यपि भारतका केहि तप्काबाट बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा नभई उत्तर भारतमा भएको भनेर बेलाबखत गरिने दुष्प्रचारका कारण र बुद्धको जन्मस्थल लुम्बिनी-कपिलवस्तु नेपालमा रहेको तथ्यबाट विश्वका कतिपय देशका जनता बेखबर रहेको तथा कतिपय देशका पाठ्यपुस्तकहरुमा बुद्धको जन्मस्थलसम्बन्धि गलत जानकारी भएका कारण हामी नेपालीहरुले आफ्नो राष्ट्रको गौरवको रक्षा, विकाश र प्रवर्धनको खातिर संवेदनशील नभई मौन बस्न सक्ने अवस्था छैन ।
 
 
सन् २००९, सेप्टेम्बरको सुरु तिर नेपाली संचारमाध्यमबाट सम्प्रेषण भएका समाचारहरुले भारतको उत्तर प्रदेश राज्य, सिद्दार्थनगर जिल्लाको पिपरहवामा नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु निर्माण कार्य करीब ८०% सम्पन्न भैसकेको विषय प्रकाशमा आएको परिदृश्यमा यस विषयको संवेदनशीलताप्रति कतैबाट पनि आवाज नउठेकोले नागरिकस्तरबाट विश्वभरि छरियर रहेका देशप्रेमी नेपाली वुद्दिजिविहरुले स्वस्फुर्तरुपमा सन् २००९ को १ डिसेम्बर देखि"कपिलवस्तु दिवस-विश्व दिवस" को रुपमा मनाएर अभियानको सुत्रपात गरे । 
 
१ डिसेम्बर, २०११ मा अभियानले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरि आयोजना गरेको काठमाडौँमा सम्पन्न तेस्रो कपिलवस्तु दिवस तथा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीबाट अभियानको नाम परिवर्तन गरि"लुम्बिनी-कपिलवस्तु दिवस अभियान" नामाकरण गर्यो । यो अभियानले आगामी डिसेम्बरमा नेपालमा तथा विश्वका विभिन्न देशहरुमा विभिन्न कार्यक्रम गरेर पाँचौं "लुम्बिनी-कपिलवस्तु दिवस"मनाउने तयारी गरिरहेको छ ।
गौतम बुद्ध लुम्बिनी, नेपालमा जन्मेका हुन भन्ने सबैभन्दा राम्रो प्रमाण लुम्बिनीमा रहेको अशोक स्तम्भलाई विश्व सामुन्ने १ डिसेम्बर, १८९६ मा तत्कालिन आर्कियोलोजिकल सर्भे अफ इन्डियाका प्रमुख, (सन् १८७९ मा जर्मनीको वुर्स्बर्गबाट संस्कृत भाषा फिलोलोजिमा विद्यावारिधि हासिल गरेका) जर्मन पुरातत्वविद् डा. अलोइस अण्टोन फुहररले सार्वजनिक गरेको दिनलाई महत्व दिनु उपयुक्त हुने ठहर गरेर हरेक वर्ष १ डिसेम्बरलाई अभियानले "लुम्बिनी-कपिलवस्तु दिवस" को रुपमा मनाउन सुरु गरेको हो ।
 
१ डिसेम्बर, २००९ देखि "बुद्ध वाज बोर्न इन नेपाल" भन्ने स्लोगानबाट सुरु भएको नेपाली समुदाय बीचबाट विश्वव्यापी बन्दै गएको यस अभियानले सुरु गरेको बुद्धको जन्मस्थल लुम्बिनी-कपिलवस्तुको प्रचार प्रसार र त्यस सम्बन्धमा गलत भएका जानकारीहरुलाई सच्च्याउन गरिएका प्रयासहरुबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै अघि बढिरहेको सर्वविदितै छ । अभियानबाट प्रेरित भई पछिल्ला दिनहरुमा बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार विश्वस्तरमा गर्नु पर्ने आवस्यकता महसुस गरेर तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारको निर्णय अनुसार नेपाल राष्ट्र बैंकले नेपाली एक सय रुपैयाको नोटमा सचित्र लुम्बिनीको अशोक स्तम्भ राखेर "लुम्बिनी, दि बर्थ प्लेस अफ लर्ड बुद्ध" छापेर सरकारीस्तरबाट प्रचार-प्रसारको राम्रो थालनी गर्यो । भर्खरै राष्ट्रिय खेलकुद परिषदले पनि बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रचार-प्रसार गर्ने उद्देश्य अनुरुप नै"शान्तिका लागि खेलकुद" नाराका साथ "प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनशिप २०७०" नामबाट लुम्बिनीको तस्बिरलाई लोगो बनाएर राष्ट्रिय स्वाभिमानलाई उचो बनाउन अर्को सराहनीय प्रयासको थालनी गरेको छ । बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वसामु परिचित गराउन व्यक्तिगत प्रयास गर्ने नेपालीहरु पनि बढेर गएका छन् । यसमा अभियान तिनीहरुप्रति गर्व गर्दै तिनीहरुलाई सम्मान गर्दछ भलै ती व्यक्ति वा संस्थाहरु अभियानसंग आवद्द नहोउन् । 
 
गौतम बुद्धको जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेकोस्थान बोधगया,उनले आफ्ना शिष्यहरुलाई उपदेशहरु दिन सुरु गरेको स्थान सारनाथ तथा उनको देहावसान अर्थात् महापरीनिर्वाण भएको स्थान कुशीनगर यी चार स्थानलाई महत्वपुर्ण पवित्रस्थलको रुपमा मानिएको छ । चार पवित्रस्थल मध्ये बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्दछ भने अन्य ३ पवित्रस्थल भारतमा पर्दछन् । प्राचिन भारतीय भाषा र कानुनका विद्वान जर्मन प्रोफेसर जर्ज बुहलरद्वारा "दि जर्नल अफ रोयल एसियाटिक सोसाइटी ग्रेट ब्रिटेन तथा आयरल्याण्ड" को पेज ४२९ देखि ४३३ मा सन् १८९७ फेब्रुअरिमा प्रकाशित लेखमा जर्मन पुरातत्वविद् डा. अलोइस अण्टोन फुहररले १ डिसेम्बर, १८९६ मा तत्कालिन नेपालको पाल्पा जिल्लाका गभर्नर जेनेरल खड्ग समशेर जबरासंगको संयोजनमा गरेको पुरातात्विक अध्ययन र अन्वेषणले बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल भएको अशोक स्तम्भमा ब्राम्ही लिपिमा लेखिएको टेक्स्टको अनुवाद गरि विश्वसामु उजागर गरेको उल्लेख छ ।
 
निग्लिहवामा भएको अशोक स्तम्भ पनि सन् १८९५ मा डा. फुहररले नै सार्वजनिक गरेका थिए । डाक्टर फुहररले गरेको ऎतिहासिक तथा पुरातात्विक अन्वेषणमा सन् ४०३ मा चिनिया बौद्धमार्गीहरु फाहियान(फाक्सिन) र सन् ६३६ मा हुआन सियाङ्गले बुद्धको जन्मस्थल नेपालको लुम्बिनी-कपिलवस्तुको भ्रमण गरेर त्यो नै बुद्धको जन्मस्थल भएको सन्देश दिएको समेत उनले उल्लेख गरेका छन् । डाक्टर फुहरर पछि सन् १८९९ मा भारतीय पुरातात्वविद पी. सी. मुखर्जीले प्राचिन तिलौराकोट र कपिलवस्तुको पुरातात्विक उत्खननबाट लुम्बिनी,नेपाललाई नै बुद्धको जन्मस्थल भएको थप पुष्टि
गरे ।
 
अस्ट्रेलियन बौद्धमार्गी, प्रसिद्द लेक्चरर तथा स्पिरिचुयल एडभाइजर वेन. एस.धम्मिकाले उनको कृति "दि इडीक्ट्स अफ किङ्ग अशोका" मा सम्राट अशोकले बुद्धसंग सम्बन्धित विभिन्न स्थानको भ्रमण गर्दै महत्वपुर्ण स्थानहरुमा स्तम्भहरु निर्माण गरेर आफ्नो भ्रमणको स्मरण गराउन त्यसमा केहि प्रमाणको लागि लेखेका छन् भने केहि स्थानहरुमा चट्टानहरुमा लेखेर आफ्नो भ्रमणको प्रमाण छोडेको उल्लेख गरेका छन् । साथै धम्मिकाले बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा भएको तथ्यलाई नै उल्लेख गरेका छन् ।
 
अब प्रसङ्ग सुरु गरौँ कहिलेदेखि भगवान बुद्धलाई भारतीय हुन् भन्ने विवादको सुरुवात भयो । सन् १८९८ मा ब्रिटिश इन्जिनियर एवं प्लान्टर विलियम क्लास्टोन पेप्पेले उत्तर प्रदेश राज्य, बस्ती जिल्लाको पिपरहवामा उत्खनन गर्दै जादा इट्टाबाट निर्मित स्तुपाको भग्नावशेष देखे पछि उनले उत्खननबाट ५ वटा साना जारहरु फेला पारे । जसमा ससाना फुल जस्ता आकारका सयौं जुवाहरत तथा जलेका हड्डीको केहि अवशेष प्राप्त गरे । त्यो हड्डीको अवशेष चाही बुद्धको नै भएको र त्यो सम्राट अशोकले त्यहाँ गाडेको अनुमान उनले लगाए । बुद्धको मृत्यु पछि उनको शरीरको खरानी उनका सन्तानलाई दिएर बाकी विभिन्न ८ राजघरानालाई वितरण गरेको भन्ने पाइन्छ । पिपरहवाको उत्खननमा फेला परेको एउटा जारको ढक्कनमा लेखिएको अभिलेखमा "बुद्धिजम्को एक महान संरक्षकले पिपरहवामा ठुलो विहार निर्माण गरे र त्यहाँ रहेको स्तुपाको मर्मत सम्भार गरे" भन्ने उल्लेख भएको आधारमा शक्यहरुको राजधानी कपिलवस्तु पिपरहवा नजिकै भएको अनुमान उनले लगाए । बुद्धको जन्मस्थल लुम्बिनी सम्बन्धि विवाद यहाँबाट पेप्पेले सुरु गरेका हुन् ।
 
त्यसपछि सन १९७० मा अर्का भारतीय पुरातात्वविद के. एम.श्रीवास्तवले पुन: पिपरहवा स्तुपाको उत्खनन गरेर त्यहाँ सम्राट अशोकको समाधिस्थल रहेको भन्ने विषय उजागर गर्दै पेप्पेलाई बल पुर्याउदै त्यहाँ नजिकैको गांवारिया गाउँलाई कपिलवस्तु भएको उनले दाबी गरे । भारतमा ब्रिटिशराजको समयमा सन् १९४० मा उत्तर प्रदेश, कानपुरमा जन्मेका एङ्ग्लो इन्डियन लेखक चार्ल्स एलेनको २००८ मा प्रकाशित पुस्तक "दि बुद्ध एण्ड डा. फुहरर: एन आर्कियोलोजिकल स्क्यान्डल"नामक पुस्तकमा उनले ब्रिटिश इन्जिनियर प्लान्टर पेप्पेको अन्वेषणको पक्षलाई बल दिंदै बुद्धको जन्म भारतको पिपरहवा नजिकैको कपिलवस्तुमा भएको भन्दै जर्मन पुरातत्वविद डा. फुहररको अध्ययन र अन्वेषणप्रति अविश्वास गरेका छन् ।
 
अर्कोतर्फ, भारतीय इतिहासकारहरु बुद्धको जन्मस्थल सम्बन्धमा एक आपसमा विरोधाभास दाबी गर्न पनि चुकेका छैनन् । भारतको उडिसा राज्य, भुवनेश्वोर नजिकैको कपिलेश्वोरलाई प्राचिन कपिलवस्तु भनेर दाबी गर्ने पहिलो भारतीय इतिहासकार चंद्रधर मोहपात्र हुन् । उनले सन् १९३० मा प्रकाशित आफ्नो पुस्तक "दि रिएल बर्थप्लेस अफ बुद्ध" मा सन् १९२८ मा कपिलेश्वोरमा लुम्बिनी, नेपालमा भएको जस्तै पत्थरको अभिलेख सहितको अशोक स्तम्भ भेटिएको भनेका छन् तर त्यो स्तम्भ अहिले भने हराइरहेको छ, भनिन्छ । इतिहासकार मोहपात्रलाई उदृत गर्दै भारतका उडिसा स्टेटका निर्वाचन आयुक्त तथा बुद्दिजम्का अनुसन्धानकर्ता अजित कुमार त्रिपाठीले पनि कपिलेश्वोरलाई बुद्धको वास्तविक जन्मस्थल भनेर सन् २००८ मा "दि रिएल बर्थप्लेस अफ लर्ड बुद्ध" पुस्तक प्रकाशित गरेका छन् ।
 
लज्जास्पद छ, केहि भारतीय इतिहासकार, लेखक, फिल्म निर्माता, कलाकार तथा पुरातत्वविदहरु सम्राट अशोकले बुद्धको जन्मस्थल लुम्बिनी,नेपालमा रहेको र त्यस पवित्रस्थलको दर्शन गरेर आफुले त्यस भ्रमणको स्मृतिमा स्तम्भ निर्माण गरेको भन्ने उनको भनाई रहेको अभिलेखको चाही बेवास्ता गर्दछन् र तिनै सम्राट अशोकले निर्माण गरेका अन्य स्तम्भ तथा स्तुपाहरुमा जहाँ उनले बुद्धको जन्मस्थल भनेर उल्लेख नगरेका स्थललाई चाही वास्तविक बुद्धको जन्मस्थल भनेर दाबी गरिरहेका छन् । 
 
 
त्यसैगरी अर्का भारतीय मुलका अमेरिकी लेखक तथा सी. एन. एन.टेलिभिजनका कार्यक्रम प्रस्तोता फारेद जाकारियाले सन् २००८ मा प्रकाशित आफ्नो पुस्तक "दि पोस्ट अमेरिकन वर्ल्ड" मा "बुद्ध वाज एन इन्डियन एण्ड बुद्दिजम् वाज बोर्न इन इण्डिया" लेखेर विवाद निम्त्याए र पछि नेपाली जनताले गरेको आलोचनाका कारण चलाखीपूर्ण शैलीमा माफी माग्न बाध्य भए ।केहि भारतसंग प्रतक्ष्य सम्बन्ध नभएका लेखकहरुले पनि बुद्धको जन्मस्थललाई विवादित बनाउनेतर्फ कलम चलाएका छन् । ती मध्ये अमेरिकी लेखक चार्ल्स भान डोरेन पनि पर्दछन । उनले आफ्नो सन् १९९१ मा प्रकाशित पुस्तक "ए हिस्टोरी अफ नलेज" को २१ औं पेजमा गौतम बुद्ध ५६३ बि. सी. मा उत्तर भारतमा जन्मेका थिए भनेर उल्ल्लेख गरेका छन् । त्यस्तै अर्की चाइनिज मुलकी अमेरिकी लेखक एमी टानले पनि उनको सन् २००५ मा प्रकाशित पुस्तक "सेभिङ्ग फिस फ्रम ड्राउनिंग" मा पनि गौतम बुद्ध उत्तर भारतमा जन्मेको उल्लेख गरेकी छन् ।
 
अर्को तर्फ, फिल्म निर्माताहरुले पनि बुद्धको जन्मस्थललाई विवादित बनाउदै आएका छन् । "चादनी चोक टू चाईना" नामक चलचित्रमा बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विवादित बनाएका कारण नेपाली जनताको चर्को दबाब र विरोध प्रदर्शन पछि त्यस चलचित्रका निर्माताले नेपालीसंग माफी मागेका थिए । गत सेप्टेम्बर २०१३ मा टेलीसेरियल निर्माता बि. के. मोदीले "बुद्ध" टेलीसिरियल जी टिभीले प्रसारण सुरु गरे अगावै बुद्धको जन्मस्थलको बारेमा निर्माता मोदीले तथा कलाकार कबिर बेदीले गलत सन्देस प्रवाह गरे । उनले निर्माण गरेको टेलीसेरियलमा उत्तर भारतमा बुद्ध जन्मेका थिए भनेर नेपालीहरुको मन दुखाउने गल्ति उनले पनि गरेका छन् ।
 
स्मरणीय छ, सन् १९६७ मा तत्कालिन संयुक्त राष्ट्र संघका बौद्धमार्गी महासचिव यु थान्तले लुम्बिनी, नेपालको दर्शन गरेर लुम्बिनीको विकाश र प्रवर्धन गरि अन्तर्राष्ट्रिय बौद्धमार्गीको केन्द्र बनाउन गरेको सराहनीय प्रयासपछि सन् १९९५ मा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र जापानका पुरातात्वविदहरुले सामुहिक रुपमा गरेको पुरातात्विक पछिल्ला उत्खननबाट मायादेवीको मन्दिर मुनि भएको उत्खननबाट १८ फिट तल भेट्टिएको पवित्र पत्थरले बुद्धको जन्मस्थल नेपाल भएको थप पुष्टि गर्यो ।
 
भर्खरै २५ नोभेम्बर, २०१३ का दिन नेपाल, जापान, युनेस्को र नेसनल ज्योग्राफिक सोसाइटीको सहयोगमा अन्तर्राष्ट्रिय पुरातात्वविदहरुको नेतृत्व गरेका बेलायतको दुरहम विश्वविद्यालयका पुरातात्वविद प्रोफेसर रोविन कोनिङ्घाम तथा नेपाली पुरातात्वविद डा. कोषप्रसाद आचार्य सहितको सामुहिक टोलीले गरेको उत्खननबाट ६ शताब्दी इशा पूर्वको इट्टाहरुको वालमा प्राचिन काठको संरचना प्राप्त भएको छ । यो भन्दा अगाडि ३ शताब्दी इशा पूर्वको लुम्बिनीको अशोक स्तम्भलाई बलियो प्रमाणको रुपमा लिइएको थियो । करिव ३ वर्ष देखिको पुरातात्विक उत्खनन कार्यबाट अहिलेसम्मको सबै भन्दा पुरानो पहिलो पटक बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल नै भएको र बुद्धको जन्म मिति करिव ५५० बि सी तिर हुन् सक्ने वैज्ञानिक प्रमाण प्राप्त भएको तथ्य उनीहरुले सार्वजनिक गरेका छन् ।
 
अन्तमा, संयुक्त राष्ट्र संघले सन् १९९७ मा लुम्बिनीलाई युनेस्कोको विश्व सम्पदा सुचिमा सुचिकृत गरेर बौद्दमार्गीहरुको अन्तर्राष्ट्रिय केन्द्रको रुपमा विकाश र प्रवर्धन गर्न सहयोगी भुमिका निभाउदै आएको सन्दर्भमा बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु नेपाललाई विवादित बनाउने माथि उल्लेखित पुरातत्वविद, इतिहासकार, फिल्म निर्माता तथा लेखकहरुले लुम्बिनीको अशोक स्तम्भको अभिलेख र तिलौराकोटमा भेटिएको कपिलवस्तु दरबारको संरचनाका भग्नावशेषलाई नबुझे झैँ गरि ठोस प्रमाणको चाही बेवास्ता गर्दै सम्राट अशोकले पिपरहवाको स्तुपामा बुद्धको अस्तु राखेको स्थानलाई प्रमाण ठानेर बुद्धको जन्मस्थल लुम्बिनी-कपिलवस्तु पिपरहवा हो भनेर विवाद गर्नु उनीहरुको दृष्टिभ्रम मात्र नभई नेपाल-भारत सिमानामा हुने अतिक्रमणको अर्को रुप हो भनेर बुझ्दा अतिशयोक्ति नहोला ।
(लेखक लुम्बिनी-कपिलवस्तु दिवस अभियानका युरोप सल्लाहकार हुन् )

No comments:

Post a Comment