Tuesday, November 11, 2014

ओस्लोमा सम्पन्न ऎक्यवद्द्ता कार्यक्रम र मेरो अनुभूति-दामोदरप्रसाद आचार्य

-दामोदरप्रसाद आचार्य

विश्वविभूति महामानव भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको विश्वव्यापी प्रचार-प्रसार गर्दै र बुद्धको जन्मस्थल सम्बन्धि गलत जानकारी भएका पाठ्यपुस्तकहरुलाई सच्याउने तथा हटाउने उद्देश्यले विगत ५ वर्षदेखि सक्रियताका साथ संचालित लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले मलाई अभियानको युरोप सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको इमेल २६ अप्रिल २०१३ का दिन अभियानका विश्व संयोजक राम कुमार श्रेष्ठबाट प्राप्त गरेँ । त्यसपछि युरोपेली देशहरुमा अभियानको राष्ट्रिय समिति विस्तार गर्ने सिलसिलामा विश्व शान्तिको लागि भूमिका निभाइरहेको देश नर्वेमा राष्ट्रिय समिति गठन गर्ने उद्देश्यले २५५७ औं बुद्ध जयन्तीको सेरोफेरोमा मैले नर्वेमा बसोबास गरिरहनु भएका त्यहाँ कार्यरत मित्र डा. कृष्ण अर्याल (पिएचडी, सिविल इञ्जिनिएरिङ्ग) संग सम्पर्क गरि अभियानको राष्ट्रिय समिति नर्वे गठनको पहल सुरु गरेँ । तर मित्र डा. अर्यालले नेपाल भ्रमणको कार्यक्रम तय गरिसक्नु भएकोले समय अभावका कारण बुद्ध जयन्तीको अवसरमा राष्ट्रिय समिति गठन गर्न भ्याइएन ।

नर्वेमा बसोबास गर्ने नेपाली समुदायबीच अभियानको राष्ट्रिय समिति नर्वे गठनको विषयमा छलफल चलिरहेको सन्दर्भमा गत अगस्त महिनाको अन्तिम साता नेपाली-बर्गन समाज, नर्वेले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको दिन समिति गठन गर्ने सल्लाह गरे अनुसार म हवाई मार्गबाट नर्वेको राजधानी ओस्लो हुदै सोहि दिन ओस्लोबाट बर्गन पुगेँ । मलाई बर्गनको विमानस्थलमा मित्र डा. कृष्ण अर्यालले हार्दिकताका साथ स्वागत गर्नुभयो र उहाँको कारमा बसेर बर्गनको सांस्कृतिक कार्यक्रम आयोजनास्थलमा समयमा नै पुगियो । त्यहाँ पुगेपछि अन्य नेपाली दाजुभाई दिदिबहिनिहरुसंग परिचय गर्ने सौभाग्य मिल्यो । विशेषत: बर्गन विश्वविध्यालयका फिजिक्स एण्ड टेक्नोलोजी डिपार्टमेन्टका वैज्ञानिक डा. अनक भण्डारी लगायतका मित्रहरुसंगको कुराकानी सौहार्द्पूर्ण रह्यो ।

केहि समय पछि मलाई नेपाली मित्रहरुले सांस्कृतिक कार्यक्रममा अतिथिहरुको लागि आसन ग्रहण गराउने अघिल्लो लाईनमा बस्न आग्रह गर्नुभयो, म त्यसै अनुसार बसें । त्यसपछि कार्यक्रममा सहभागी हुन आउनु भएका नर्वेजियन नागरिकहरुको समुह मैले अपेक्षा नै नगरेको उल्लेखनीय उपस्थिति देखें । त्यो मेरो लागि अत्यन्तै फरक थियो किनकी मैले बेल्जियममा हुने गरेका नेपाली समुदायका तर्फबाट आयोजित सांस्कृतिक कार्यक्रमहरुमा बेल्जियन नागरिकहरुको उपस्थिति भने अत्यन्तै न्यून भएको पाएको छु ।

सांस्कृतिक कार्यक्रमको समापन पछि खानाको व्यवस्था गरिएको थियो । कार्यक्रममा सहभागी करिव ३०० जनाले खाना खाइसके पछि अभियानको राष्ट्रिय समिति गठन गर्ने कार्यतालिका अनुसार उपस्थित नेपाली जनसमुदायको बीचमा छोटो मन्तव्यका साथ अभियानको उद्देश्य र गतिविधिहरुका विषयमा मैले प्रकाश पार्दै अभियानको राष्ट्रिय समिति नर्वे गठनको प्रस्ताव गरेँ । सोहि भेलाबाट डा. कृष्ण अर्यालको राष्ट्रिय संयोजकत्वमा २ जना सल्लाहकार सहितको ११ सदस्यीय राष्ट्रिय समिति नर्वे शनिवार, ३१ अगस्त २०१३ का दिन गठन गरियो ।

अभियानको पाँचौं वार्षिकोत्सवको अगाडि, १० नोभेम्बर २०१३ मा अभियानको राष्ट्रिय समिति नर्वेका राष्ट्रिय संयोजक डा. अर्यालले अभियानको पाँचौं वार्षिकोत्सवको अवसरमा डिसेम्बरमा के कस्तो कार्यक्रम आयोजना गर्ने भनेर बोलाउनु भएको स्काइपे अनलाइन बैठकले १० डिसेम्बरका दिन नोबेल शान्ति पुरस्कार वितरण समारोहस्थल अगाडि भगवान गौतम बुद्धका महत्वपूर्ण उपदेशहरु लेखिएका प्लेकार्डहरु र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा भएको अंग्रेजी र नर्वेजियन भाषामा लेखिएको ब्यानर सहित विश्व शान्तिको लागि ऎक्यवद्दता प्रदर्शन गर्ने र सोहि दिन ओस्लो युनिभर्सिटीको अडिटोरियम हलमा बुद्धको जन्मस्थल लुम्बिनी सम्बन्धमा अन्तरक्रिया कार्यक्रम र सोहि सम्बन्धि डकुमेन्ट्री भिडियो प्रदर्शन गर्ने निर्णय गरेको थियो । साथै राष्ट्रिय समिति नर्वेले अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि वक्ताको लागि विश्व समितिसंग अनुरोध गर्ने निर्णय गर्यो । विश्व समितिले अन्तरक्रिया कार्यक्रमको वक्ताको लागि म पंक्तिकारलाई नर्वे पठाउने तय गर्यो ।

सार्वजनिकस्थलमा कार्यक्रम गर्न अनुमति विना नपाइने नियमका कारण ओस्लोको सिटि हल अगाडि नोबेल शान्ति पुरस्कार वितरण समारोहस्थलमा प्रदर्शन गर्न आवश्यक इजाजत प्राप्त गर्ने प्रक्रियाको लागि ओस्लो नगरपालिकासंग तथा प्रहरी प्रशासनसंग पत्राचार गर्ने कार्य राष्ट्रिय संयोजक डा. अर्यालले गर्नुभयो । उक्त कार्यक्रमका लागि नगरपालिका र प्रहरी प्रशासनबाट अन्तर्राष्ट्रिय वरिष्ठ अतिथिहरुको समारोहमा आगमन हुनु १ घण्टा अगाडि १२ बजे देखि २ बजेसम्मको लागि अभियानले प्रदर्शन गर्न पाउने स्वीकृति प्राप्त गर्यो । सोहि दिन अपरान्ह १६:३० - १८:३० सम्म ओस्लो युनिभर्सिटीको अडिटोरियम हलमा अन्तरक्रिया कार्यक्रम गर्न पनि सोहि युनिभर्सिटिमा विद्यावारिधि गर्दै गरेका मेडिकल डा. सुदन न्यौपानेको संयोजनमा तय भयो । 

डिसेम्बर १० मा नर्वेको कार्यक्रम तय भइसके पछि मैले अभियानलाई विस्तार गर्ने कार्यलाई पनि संगै अगाडि बढाउने उद्देश्यले स्वीडेनमा रहेर व्यवसाय गर्दै आउनु भएका स्वीडेनका एन आर एन ए आइसिसि सदस्य कृष्ण कुमार ढकालसँग सम्पर्क गरि अभियानको राष्ट्रिय समिति गठनको पहल गर्ने विषयमा कुराकानी गरें । उहाँले त्यस विषयमा पूर्ण सहयोग गर्ने जनाए पछि मेरो यात्रा ७ डिसेम्बरबाट नै सुरु भयो । म ७ डिसेम्बर बिहान ब्रुस्सेल्स एयर्लाइन्सबाट ब्रुस्सेल्सबाट ओस्लोको लागि प्रस्थान गरें र ओस्लोबाट सोहि दिन रेलबाट स्विडेनको दोस्रो ठुलो शहर गोथेन्बुर्ग पुगेँ ।भोलिपल्ट ८ डिसेम्बरका दिन स्वीडेनमा अभियानको राष्ट्रिय समिति गठन कार्यलाई पूर्ण गरि ९ डिसेम्बरका दिन नै म स्विडेनबाट ओस्लोमा १० डिसेम्बरका दिन आयोजना हुने कार्यक्रममा सहभागिताको लागि हिडें । स्विडेनबाट फर्किदा बाक्लो हिउँ परेकोले बाहिरको मौसम अत्यन्तै चिसो थियो तर मेरो उद्देश्य र जिम्मेवारीको अगाडि त्यो चिसोले मलाई केहि असर गरेन ।       

स्विडेनको गोथेन्बुर्गबाट म एक्सप्रेस बसद्वारा करिव ५ घण्टामा सोहिदिन बेलुका ओस्लो सेन्टरमा आइपुगें । त्यस साँझ मेरो ओस्लोमा बसाइको प्रवन्ध अभियानका नर्वे राष्ट्रिय संयोजक मित्र डा. अर्यालले नै मिलाउनु भयो । त्यसपछि भोलिपल्ट दिउसो १२ बजेको कार्यक्रमको लागि कार्यक्रमस्थल संगै जाने सल्लाह गर्दै आराम गर्न लागियो । 

नर्वेलाई किन रोजियो
विश्वका कतिपय द्वन्दरत देशहरुमा शान्ति स्थापनाको लागि मध्यस्थताको भूमिका तथा राजनीतिक सहमतिको लागि वातावारण निर्माणको पहलकर्ता देशको रुपमा नर्वेले संसारमा आफ्नो परिचय बनाएको छ । नर्वेको राजधानी ओस्लोको सिटि हलमा विशेष समारोहका बीच स्विडिस वैज्ञानिक अल्फ्रेड नोबेलको स्मृति दिवसको दिन पारेर १० डिसेम्बरका दिन हरेक वर्ष नोबेल शान्ति पुरस्कार प्रदान गर्दै आएको कुरा त हामीहरु सबैलाई थाहा भएको विषय हो ।

यहाँ वैज्ञानिक अल्फ्रेड नोबेलको तथा नोबेल शान्ति पुरस्कार नर्वेले किन प्रदान गर्दै आएको छ भन्ने विषयमा छोटो चर्चा गर्नु पनि सान्दर्भिक ठान्दछु । स्विडिस रसायन शास्त्री तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड बेर्न्हार्ड नोबेलको स्मृतिमा रसायन शास्त्र, भौतिक शास्त्र, चिकित्शा शास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र सम्बन्धि विधाहरुमा उत्तम कार्य गरेबापत सन् १९०१ देखि विश्वको सर्वश्रेष्ठ नोबेल पुरस्कार हरेक वर्ष दिइदै आएको छ । उल्लेखित विधाहरु मध्ये ५ वटा विधामा दिइने पुरस्कार स्विडेनले प्रदान गर्दै आएको छ । सन् १८१४ देखि नर्वे र स्विडेन बीचको एकता सम्झौता अनुसार स्विडेनको राजा नै नर्वेको पनि राजा भएर शासन गर्दथे । सन् १९०५ सम्म नर्वे स्विडेनको अधिनस्थ देशको रुपमा रहेको थियो । उक्त स्विडिस-नर्वेजियन एकता सम्झौताअनुसार नै नोबेल शान्ति पुरस्कार चाहि नर्वेले सन् १९०१ देखि प्रदान गर्दै आएको हो ।

चिसोले छेकेन
नर्वेले विश्वशान्तिको लागि खेलिरहेको भूमिकामा अभियानले ऎक्यवद्दता जनाउनुको साथै भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल भएको तथ्य सन्देश अन्तर्राष्ट्रिय विशिष्ठ अतिथिहरु मार्फत विश्वव्यापीरुपमा प्रवाह गर्ने उद्देश्यले नर्वेको राजधानी ओस्लोमा कार्यक्रम आयोजना गरेको थियो ।

केहि दिन देखिको हिमपातका कारण डिसेम्बर १० का दिन ओस्लोको मौसम अत्यन्तै चिसो थियो । बिहान ११ बजे म पंक्तिकार र अभियानका नर्वे राष्ट्रिय संयोजक डा.अर्याल नोबेल शान्ति पुरस्कार वितरण समारोहस्थलतर्फ लाग्यौं । हामी कार्यक्रमस्थल ओस्लो सिटि हल अगाडि पुग्ने बित्तिकै त्यहाँ स्थित प्रहरीले हामीलाई प्रदर्शन गर्न तोकिएको स्थल देखाए । जहाँ फलामको बार लगाएर राखेको र त्यहाँ भएको हिउँ हटाएर सफा गरेको रहेछ । त्यो देखे पछि थोरै भए पनि हामीलाई राहत मिल्ने सोच्यौं अन्यथा हामीले २ घन्टासम्म हिउँ माथि नै उभिएर प्रदर्शन गर्नु पर्ने अवस्था थियो । त्यस कार्यप्रति ओस्लो नगरपालिकालाई धन्यवाद नदिई रहन सकिदैन ।

अभियानको नर्वे राष्ट्रिय समितिका सबै साथीहरु कार्यक्रममा उपस्थित हुन अनुकुलता नभए पनि समय मिलेसम्मका साथीहरुको सहभागिताका साथै गैर आवासीय नेपाली संघ नर्वेका कार्यसमितिमा आवद्द केहि साथीहरु अभियानको यस गौरवमय कार्यक्रममा उपस्थित हुनु भयो । अन्तर्राष्ट्रिय विशिष्ठ अतिथिहरुको सामुन्ने अभियानले बुद्धका शान्तिका उपदेश र बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल सम्बन्धि ब्यानर तथा प्लेकार्डहरु सहित हिउ परेको कारण कठ्याग्रिने चिसो भए पनि त्यसको बेवास्ता गर्दै २ घन्टासम्म सडक प्रदर्शन गर्यो । कार्यक्रममा उपस्थित कतिपय साथीहरुले आफ्ना पन्जा विनाका हातहरु चिसोले कठ्यान्ग्रिदा पनि आफुले समातेका प्लेकार्डहरु तथा ब्यानर २ घन्टासम्म नछोडिकन देखाउनु भएको देशप्रेम तथा आफ्नो देशको गौरवप्रतिको आस्थाले यो अभियानको सार्थकता र भविष्यका लागि उत्प्रेरणा दिएको मलाई अनुभूति भएको छ ।

(लेखक लुम्बिनी-कपिलवस्तु अभियानका युरोप सल्लाहकार हुन् ।)

ऎक्यवद्दता मासिकको वर्ष १३, अंक १०, माघ २०७० मा प्रकाशित ।

No comments:

Post a Comment