Tuesday, November 11, 2014

युरोपमा रहेका नेपालीहरुका समस्या र सम्भावनाहरु: दामोदरप्रसाद आचार्य

-दामोदरप्रसाद आचार्य

हामीहरु सबैलाई थाहा भएकै कुरा हो, यो संसारमा भएका प्राणीहरु मध्ये सबैभन्दा उच्चकोटीको प्राणी मानिस हो । संसारमा भएका जनावरहरुले पनि मिठो खानेकुरा खान पाउञ्जेल चुत्थोलाई रोज्दैनन् । यो प्राकृतिक नियम हो । यहि नियमअनुसार अधिकांश मानिसहरु आफु र आफ्नो परिवारको राम्रो र सुखद जीवनयापनको लागि सकेसम्म स्वदेशमा मेहनत र संघर्ष गर्दछन । जव स्वदेशमा गरेर केहि हुन नसके पछि र केहि गर्ने अवसर नदेखे पछि मानिसहरु अवसरको खोजीमा विदेशतिर आकर्षित भइरहेका छन् । यदि स्वदेशमा राजनीतिक स्थायित्व र शान्तिपूर्ण अवस्था कायम गरि रोजगारीका अवसर र सम्भावनाहरुको विकाश गर्न राष्ट्र पछि पर्दै गएमा नेपालीहरु विदेशप्रति आकर्षित हुदै जाने क्रमले निरन्तरता पाइरहने छ । 

विशेषत: यस आलेखमा मैले प्राचिन कला, संस्कृतिले भरपुर र मनमोहक तथा प्राकृतिक रमणीय दृश्यहरुबाट सुसज्जित देश नेपालका हामी नेपालीहरु किन परदेशीयौं र परदेशमा त्यसमध्ये विशेषगरि युरोपमा रहेका हामी नेपालीहरुका दिनचर्या, समस्याहरु र सम्भावनाहरुको विषयमा केन्द्रित भएर त्यसको वास्तविकतालाई प्रकाशमा ल्याउने जमर्को गरेको छु । युरोपमा नेपालीहरुको आगमन र वसोवासको थालनी भएको मेरो अध्ययनमा धेरै लामो समय भएको कमै देख्दछु । तर युरोपियन देशहरु मध्ये बेलायतमा भने नेपालीहरु धेरैको संख्यामा र लामो समय देखि वसोवास गरिरहेका छन् । त्यसको मुख्य कारण चाही तीनवटा छन् । पहिलो, १९ सौं शताव्दीको सुरुबाट बेलायत सरकारले नेपालीहरुलाई आफ्नो सेनामा भर्ना गरेर बेलायतमा अस्थायी रुपमा बस्ने अधिकार दिंदै गयो र पछि ति सेनामा कार्यरत व्यक्तिहरु र परिवारहरुले स्थायी वसोवासको अधिकार समेत प्राप्त गर्दै गए । दोस्रो, बेलायतमा केहि नेपालीहरुको लामो वसोवास हुनुको अर्को कारण चाही यो देश विश्वमा नै उच्च शिक्षा हासिल गर्ने प्रमुख गन्तव्य देशहरु मध्ये एक भएकोले त्यहाँ उच्च शिक्षा हासिल गर्ने हेतुले प्रवेश गरेका नेपालीहरु मध्ये केहिले त्यहाँ नै आफ्नो सुन्दर भविष्य देखेर पलायन भएकोबाट सहजै बुझ्न सकिन्छ । तेस्रो, त्यस बाहेक सन् १९८० को दशक देखि नगण्यरुपमा नेपालमा भएको निर्दलीय राजतन्त्रको विरुद्द राजनीतिक गतिविधिमा सक्रिय हुदै आएका मानिसहरुले राजनीतिक शरणार्थीको रुपमा विस्तारै बेलायत लगायत अन्य युरोपियन मुलुकहरुमा प्रवेश गर्ने गरेको देखिन्छ ।

बेलायत सरकारको सन् २००१ को रेकर्डअनुसार ३००० देखि ३५०० जना नेपालीहरु त्यहाँको सेनामा कार्यरत रहेको पाइन्छ । युरोपियन देशहरु मध्ये सबैभन्दा धेरै नेपालीहरुको वसोवास भएको देश पनि बेलायत नै हो । बेलायत सरकारको तथ्यांकअनुसार सन् २०१० मा त्यहाँ रहेका नेपालीहरुको अनुमानित जनसंख्या ४२००० रहेको छ भने त्यहाँस्थित हिमालयन यति नेप्लिज एसोसियसनका अनुसार ५०००० जनसख्याको रुपमा नेपालीहरु बेलायतमा वसोवास गरिरहेका छन् ।राजनीतिक अस्थिरता, आर्थिक विपन्नता र २४० वर्षदेखि सामन्ती राजतन्त्रबाट शोषित र उत्पीडनमा पारिएका जनताको न्याय र समानताको अधिकारका लागि तत्कालिन नेकपा (माओवादी) ले सामन्ती राजतन्त्रको विरुद्द प्रतिरोधस्वरुप गरेको "महान जनयुद्द" सुरु भए पछि हामी नेपालीहरुले देशमा उत्पन्न झनै अशान्ति र भयप्रद अवस्थाबाट सुरक्षित हुन र राम्रो अवसरको खोजीमा राजनीतिक शरणार्थीको रुपमा सन् १९९० को दशक देखि युरोपका देशहरु विशेष गरेर बेलायत, जर्मनी, फ्रान्स, स्विट्जरलैंड, नेदरलैंड, बेल्जियम, डेनमार्क, नर्वे, स्विडेन, अष्ट्रियालगायत देशहरुमा प्रवेश गरेको देखिन्छ । अर्कोतर्फ, कतिपय नेपालीहरुले अध्ययनको सिलसिलामा युरोपियन मुलुकहरुमा प्रवेश गरेर पछि त्यस देशको नियमअनुसार स्थायी वसोवासको लागि आवेदन दिएर सम्बन्धित देशले स्वीकृति दिएका कारण स्थायी वसोवासको अवसर प्राप्त गरेका छन् । साथै कतिपय नेपालीहरुले आफ्नो आर्थिक उन्नतिको खातिर अध्ययनको नाममा यी मुलुकहरुमा प्रवेश गरेर अध्ययनलाई त्यागेर देशमा भएको गृहयुद्दलाई कारण बनाएर अन्यत्र देशहरुमा प्रवेश गरि राजनीतिक शरणार्थीको लागि आवेदन दिएर पनि वसोवास गरेका उदाहरणहरु नभएका होइनन् ।

दिनचर्या :
हामी युरोपियन देशहरुमा स्थायी तथा अस्थायी वसोवास गरिरहेका अधिकांश नेपालीहरुको दिनचर्या मुख्यत: मजदुरको हैसियतमा गुज्रिरहेको छ । नेपालमा कहिल्यै मजदुरी नगरेकाको लागि यहाँ आएर मजदुरको हैसियतमा कार्य गर्नु पर्दा आफुलाई अस्वभाविक महसुस भएको बताउने नेपालीहरु पनि भेटिन्छन् । हाम्रो जस्तो विकाशोन्मुख मुलुकहरुमा निम्नस्तरको कार्यहरु तथा निम्नस्तरको पदहरुमा रहेर कार्य गर्नेहरुलाई प्राय: जीवन र जगतलाई अध्ययन नगरेका व्यक्तिहरुबाट तुच्छ र भिन्न देख्ने प्रवृत्ति पाइन्छ । त्यो तुच्छ र भिन्न देख्ने प्रवृत्ति पूर्णत: गलत छ । तर यी विकशित देशहरुका मानिसहरुमा निम्नस्तरको कार्य र उच्चस्तरको कार्य भनेर कुनै पनि कार्यप्रति तुच्छ र भिन्न गरेर हेर्ने प्रवृत्ति पाइदैन । अपितु तिनीहरु सबै किसिमका कार्य गर्ने मजदुरहरुलाई सम्मान गर्ने प्रेरणादायी प्रवृत्तिका धनि पाइन्छन् । स्वदेशमा आफ्नो घर र आँगन सफा र स्वच्छ राख्न २-४ घण्टा समय मेहनत नगरेका कतिपय हामी नेपालीहरुले विदेशमा भने आफ्नो शरीर र स्वास्थ्यको लागि अत्यावश्यक निद्रालाई समेत महत्व नदिएर सरकारले काम गर्न तोकेको दिनको आठ घण्टासमय भन्दा अधिक समय आर्थिक आर्जनका खातिर अनौपचारिक तवरले काम गर्ने गरेका विषयहरु पनि बेलाबखत सुन्नमा आएको छ । चिकित्सा शास्त्रको एउटा विद्यार्थीको हैसियतले भन्दछु कि स्वास्थ्य विज्ञानको दृष्टिकोणले स्वस्थ रहनको लागि वयस्क मानिसको लागि कममा ६ देखि ८ घण्टा सम्म आराम गर्नुपर्दछ । त्यसतर्फ ध्यान नदिएर २४ घन्टामा १६-१८ घन्टासम्म काम गर्नु कुनै पनि हिसावले उचित हुदैन । साथै त्यसरी काममा अत्यधिक समय लगाएर जीवन बिताउदै आउनु भएका व्यक्तिहरुले आफ्नो दैनिकीलाई स्वास्थ्यको प्रतिकुल नहुने गरेर आगामी दिनहरुमा रुपान्तरित हुनु हुनेछ भन्ने म आशा र अपेक्षा पनि राख्दछु ।

अर्कोतर्फ, वास्तवमा मेहनत र परिश्रमको फल मिठो हुन्छ । त्यसबाट नै आज यो संसारमा वैज्ञानिक चमत्कारिक कार्यहरुबाट भएका नविनतम उपकरणहरुको निर्माण, नयाँ विशाल संरचनाहरुको निर्माण र नयाँ उत्पादनहरुको विकाश आदि विश्वमा भएका छन् । यहाँका व्यवसायीहरु आफुलाई कहिल्यै म मालिक हुँ भन्ने सोच्दैनन् र आफुलॆ तलव दिएर राखेका मजदुरहरुसंग संगै बराबर भएर काम गर्दछन् । काम लगाउने मालिकहरुको यो विशेषताबाट अत्यधिक नेपालीहरुले पनि आफुलाई रुपान्तरण गर्ने अवसर पाएका छन् । मैले यहाँ फरक सन्दर्भको छोटो भूमिका प्रस्तुत गरे जस्तै मेहनत र परिश्रम गरेर केहि नेपालीहरुले मजदुरको हैसियतबाट आफुलाई माथि उठाएका केहि उदाहरण पनि छन् । विशेष गरि नेपालीहरुले रेस्टुरेन्ट व्यवसायलाई अंगालेका छन् भने केहिले किराना पसलदेखि नाइट शप, क्याफे, गिफ्ट र सोभेनियर शपहरु पनि संचालन गरिरहेका छन् ।

युरोपियन मुलुकमा रहेका नेपालीहरुले एक आपसमा मित्रता, पारस्परिक सहयोग र सद्भावना विकाशको लागि पनि विभिन्न संघ संगठनको निर्माण गरि आफुहरुलाई सगठित गरेका छन् । स्वदेशको माया र चिन्ता गर्ने नेपालीहरु पनि यहाँ धेरै भेटिन्छन । तिनीहरुले स्वदेशको आ-आफ्नो जिल्ला, नगर र गाउँको विकाशको लागि समय समयमा अर्थ सकलन गरि समाज सेवामा पनि हातहरु अगाडि बढाएको पाइन्छ । बेल्जियममा भने नेपालका सबैजसो राजनीतिक दलहरुसंग निकट रहेका संस्थाहरु पनि सक्रिय रहेका छन् । युरोपका अन्य देशहरुमा पनि नेपालका मुख्य राजनीतिक दलहरुसंग निकट संघ संस्थाहरु सक्रिय रहेका समाचारहरु सार्वजनिक भएका छन् ।
समस्याहरु : मुख्यत: नेपालमा अध्ययन गरेर प्राप्त गरेका प्राज्ञिक तथा प्राविधिक योग्यतालाई बेलायतमा बाहेक अन्य युरोपियन देशहरुमा स्वभाविकरुपमा मान्यता प्राप्त भएको धेरै नै कम देखिन्छ । त्यसरी आफ्नो योग्यता र अनुभवको उचित मुल्यांकन नभई फरक पेशालाई स्वीकारेर जीवनयापन गर्नु परेको असहजताबाट प्रफुल्लता महसुस नगरेका न्यून संख्यामा नेपालीहरु युरोपियन मुलुकहरुमा रहेको पाइन्छ । दोश्रो, नेपालमा भएको घर जग्गा धितो राखेर ऋण लिएर आर्थिक उन्नति गर्ने उद्देश्यका साथ यहाँ प्रवेश गरेका केहि नेपालीहरुले केहि गर्ने अवसर नपाएर कष्टकर जीवन बिताउदै गर्दा स्थायी वासोवासको अधिकार नपाएका कारण अन्तत: यहाँका सरकारहरुबाट नेपाल फिर्ता गरेका नेपालीहरुको सुची पनि लामो नै बन्न पुगेको छ । आफुले दिएको राजनीतिक शरणार्थीको आवेदन अस्वीकृत भए पछि अवैधरुपमा छिटफुट केहि नेपाली लुकिछिपी अवस्थामा पनि रहेका छन् । तिनीहरुको भविष्य भने यहाँ अन्धकार नै छ ।
 
तेश्रो, बेलायत बाहेकका अन्य देशहरुमा रहेका नेपालीहरु भाषागत समस्याका कारण आ-आफ्नो जीवन शैली र क्यारियरलाई माथि उठाउन सकिरहेका छैनन् ।
 
चौथो, युरोपियन देशहरुमा स्थायी वसोवासको अधिकार पाएका तर सम्बन्धित देशको नागरिकता नलिएका नेपालीहरुका नेपालमा रहेका १८ वर्ष नाघेका परिवारका सदस्यहरुलाई "परिवार पुनर्मिलन" गर्ने प्रक्रिया यहाँको सरकारको नियमले गर्दा नेपालीहरुले कठिनाई झेलिरहेका छन् ।
 
सम्भावनाहरु :
लामो समय देखि युरोपमा रहेर यहाँको मानिसहरुको चेतनाको स्तर, विकशित प्रविधि, नियम कानुन, शासन प्रणाली, र राजनीतिक, सामाजिक, सांस्कृतिक परम्पराबाट नजिक रहने नेपालीहरुले आफ्नो जीवनशैलीमा पनि परिवर्तन गर्ने अवसर र सम्भावना पाएका छन् । यसबाट त्यस किसिमका व्यक्तिले चाहना गरेमा भविष्यमा स्वदेशमा फर्केर पनि आफ्नो शिप र ज्ञानको सदुपयोग गर्न सक्ने अवस्थालाई नकार्न सकिदैन । सानै उमेरमा युरोपमा प्रवेश पाएका बालबालिका हरुको लागि भने यहाँ धेरै सम्भावनाहरु छन् । उनिहरुले यहाँ आर्जन गरेको शिक्षा दीक्षाबाट आफ्नो भविष्यलाई कस्तो बनाउने त्यसको लागि उनीहरुलाई सुवर्ण अवसर प्राप्त छ । अबको नयाँ जेनेरेसनले यहाँ भाषागत समस्याबाट कठिनाई व्यहोर्नु नपर्नुले नै त्यस्तो अवसर उनीहरुलाई मिलेको हो । अन्त्यमा, युरोपका देशहरुमा पनि गैर आवासिय नेपाली संघहरुको राष्ट्रिय समितिहरुको गठन भएकोले त्यस संघमार्फत यहाँ आर्जन गरेको स्रोत, शिप र ज्ञानलाई नेपालीहरुले स्वदेशको सेवा र विकाशमा लगाउन सकेमा नेपाली भएको सार्थक हुनेछ । साथै मातृभूमिको केहि ऋण तिर्न सकिन्थ्यो । विदेशमा रहे पनि स्वदेशको सेवा, आफ्नो राष्ट्रियता र स्वाभिमानप्रति गर्व गर्दै सबै नेपाली एकाकार हुनु नै नेपालीत्व हो भन्ने विषयबाट कोहि नेपाली नओझेलिउन ।

१७ मई, २०१३ (लाल मधेश जनपक्षीय राष्ट्रिय मासिकको ज्येष्ठ महिनाको अंकमा प्रकाशित आलेख)
लुभेन, बेल्जियम

No comments:

Post a Comment