Sunday, December 28, 2014

सम्झनयोग्य स्वच्छ अभियान: दामोदरप्रसाद आचार्य

२०७१ पौष १२ शनिबार359 पटक पढिएको
 136

 7


नेपाल र भारत खुल्ला सिमाना भएका कारण नेपालीलाई भारत प्रवेश गर्न र भारतीयलाई नेपाल प्रवेश गर्न कुनै कार्यालयसँग अनुमति लिइरहनु पर्दैन। यो एउटा सरल पक्ष हो। म नेपालमा नै रहँदा मलाई भारतका विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक केही महत्त्वपूर्ण ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने प्रबल इच्छा थियो।
 
त्यहाँ रहँदाको अवस्थामा चिकित्सा पेसामा कार्यरत अवस्थाले गर्दा समय मिलाउनै नसकेका कारण भारत भ्रमणमा निस्कन सकेको थिइनँ। त्यसबेला २०४१ सालमा मैले काम विशेषका कारण एकपल्ट बिहारको मुख्य सहर पटनासम्मको भ्रमण भने गरेको थिए । 
 
बेल्जियममा बसोबास गरेको आठ वर्षपछि म र मेरी श्रीमतीले यस वर्षको छुट्टीमा विदेश भ्रमणको लागि निस्कने अठोट ग:र्यौं। त्यसपछि ब्रिटेनमा रहेर चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टको परीक्षामा सफलता हासिल गरी हाल एउटा मल्टिनेसनल कम्पनीमा कार्यरत कान्छो छोरा उत्सव आचार्यलाई पनि नभेटेको केही वर्ष भइसकेकोले छोरासँगसमेत सल्लाह गरेर उसले समेत बिदा मिलाएपछि सँगै भारत भ्रमण गर्ने निर्णय गरियो। 
 
बेल्जियमबाट १४ अक्टोबर २०१४ का दिन प्रस्थान गरेका हामी संयुक्त अरब इमिरेट्सको फ्लाइटबाट पहिला दुबई पुग्यौं। उता छोरा उत्सव भने सोही दिन हवाईमार्गबाट नयाँ दिल्ली पुगिसकेको थियो। 
दुबईबाट १५ अक्टोबर बिहानको फ्लाइटबाट हामी दुई दम्पती नयाँदिल्लीको लागि प्रस्थान ग:र्यौं। दुबईबाट उडेको तीन घन्टामा बिहान १० बजे हामी नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थालमा उत्रियौं। 
 
त्यसपछि हामीहरू छोराले आफू बसेको होटेलबाट लिएर आएको मोटरमा बसेर होटेलतर्फ लाग्यौं। विमानस्थलनजिकै रहेको होटेलमा करिब १५ मिनेटमा पुगेपछि आपसी केहीबेरको भलाकुसारीपछि लामो यात्राका कारण निद्रा नपुगेकोले त्यस दिन आराम गरियो। 
 
यात्राका कारण थाकेको शरीर हामीहरू साँझपख निद्राबाट ब्युँझियौं। त्यसपछि सोही होटेलमा बेलुकाको खाना खाएपछि हाम्रो भ्रमणको कार्यक्रमका बारे छलफल गरी भोलिपल्ट नयाँदिल्लीमा भएका महत्त्वपूर्ण स्थानहरूको अवलोकन गर्ने निर्णय गरी आराम गरियो। 
हामीले भ्रमणको सुरुवात पुरातात्त्विक ऐतिहासिक राजदरबार लाल किल्लाबाट सुरु ग:र्यौं। यो सन् १६४८ मा पाँचौं मुगल सम्राट् शाह जहाँले निर्माण गरेको राजदरबार हो। लाल किल्ला सन् १८५७ सम्म करिब दुई सय वर्ष मुगल बादशाहको दरबारका रूपमा प्रयोगमा आएको थियो। 
 
यसलाई सन् २००७ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। हामी प्रवेशद्वारबाट भित्र जाँदा अगाडि 'स्वच्छ स्मारक, स्वच्छ भारत' लेखिएको बोर्ड देख्यौं। म बेल्जियममा हुँदै यो समाचारबारे जानकारी पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम्रो अभियानको सुरुवात गर्नुभयो भन्ने लाग्यो। 
 
'स्वच्छ स्मारक, स्वच्छ भारत' लेखिएको बोर्ड अगाडि हामीले केही तस्बिरहरू खिचेर लाल किल्लापरिसर भित्र रहेका अन्य ऐतिहसिक भवनहरूको अवलोकन गर्दै जाँदा मैले नाक, मुख पुछ्दा प्रयोग गरेको पेपर न्यापकिन फ्याक्न फोहोर फ्याल्ने डस्ट बिन खोजेँ।
 तर त्यो महत्त्वपूर्ण पर्यटकीयस्थल जहाँ दिनमा सयौं पर्यटकहरूले भ्रमण गर्ने क्षेत्र वरिपरि डस्टबिन नदेखेपछि त्यो फोहोर पेपर न्यापकिन जथाभावी जमिनमा फाल्नु उचित नभएकाले आफ्नो झोलामा हालेँ र मनमनै सम्झे भारतीय प्रधानमन्त्री मोदीको 'स्वच्छ भारत अभियान।' 
 
हामी राजघाटस्थित भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलतर्फ लाग्यौं। गान्धीको समाधिस्थल चाहिँ सुन्दर पार्कको भित्रपट्टि चारैतिरबाट पर्खालले घेरेर त्यसको बीचमा बनाइएको रहेछ। त्यहाँ हामीले गान्धीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेर फर्कियौं। त्यहाँ भित्र जाँदा आउँदा त्यहाँ पनि मैले डस्ट बिन देखिनँ। 
 
भोलिपल्ट पूर्वनियोजित कार्यक्रमअनुसार भारतमा रहेका बौद्धमार्गीका पवित्रस्थल बोधगया र सारनाथको भ्रमणको लागि रेलको टिकट रिजर्भेसन गर्न हामी मोटरबाट नयाँ दिल्लीको मुख्य रेल्वे स्टेसन पुग्यौं। 
 
त्यहाँ विदेशी पर्यटकहरूको टिकटको लागि छुट्टै सेक्सन रहेछ। हामीले युरोपमा रेलको टिकट लिन कुनै आवेदन दिनु पर्दैन तर भारतभित्र यात्रा गर्न पनि त्यहाँ आवेदन दिनुपर्ने प्रावधान रहेछ। हातमा नम्बर लिएर आफ्नो पालो पर्खेर बसेको एक घन्टापछि बल्ल हाम्रो पालो आयो। वास्तवमा हामीलाई यो प्रावधान नौलो र झन्झटिलो लाग्यो। 
 
पट्यारलाग्दो पर्खाइपछि मैले काउन्टरमा बसेका कर्मचारीलाई सोधें,'मैले रेलको टिकट खरिद गर्न बैंक कार्ड वा क्रेडिट कार्डबाट सम्भव छ?' उनले त्यो सम्भव नभएको जनाए। त्यो सुने पछि मलाई असजिलो महसुस भयो। 
 
सामान्य गेस्ट हाउस, सपिङ सेन्टरमा समेत क्रेडिट कार्डबाट बिल भुक्तानी गर्ने, खरिद गर्ने सेवा उपलब्ध भइरहेको अवस्थामा भारतीय रेल्बेले आफ्ना जनता र लाखौंलाख भित्रिने पर्यटकहरूको सेवालाई सरल र सुविधाजनक बनाउन ध्यान दिन नसकेको मलाई महसुस भयो।
 
त्यहाँ स्टेसनमा नगद निकाल्नको लागि बैंकको सुविधा पनि नभएकोले हामीले रेलको टिकट किन्न एक घन्टाभन्दा बढी समय लाइनमा बसेको व्यर्थ भयो। त्यसपछि एक ट्राभल एजेन्सीमार्फत टिकट खरिद गरेर हामी भोलिपल्ट गयातर्फको यात्राको लागि प्रस्थान गर्‍र्यौं।
 
गयातर्फ जाने रेल नयाँदिल्लीको अर्को रेल्वे स्टेसन आनन्दविहारबाट छुट्ने भएकोले हामी त्यहाँ पुग्दा त्यस रेल्वे स्टेसनवरिपरि पनि मैले फोहोर फ्याक्न खोज्दा डस्ट बिन देखिनँ र फेरि सम्झे प्रधानमन्त्री मोदीको स्वच्छ भारत अभियान। 
 
त्यसपछि गया पुगेको भोलिपल्ट हामीहरू ट्याक्सीबाट भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेको पवित्रस्थल बोधगयातर्फ जाँदै गर्दा टाई लगाएका स्कुले विद्यार्थी युनिफर्ममा सजिएर सडकको किनारमा भएका फोहोरहरू उठाएर प्लास्टिकका ठूला थैलाहरूमा हाल्दै थिए। 
 
बोधगयाको भ्रमण सकेर गया फर्कियौं। त्यसपछि गौतम बुद्धले आफ्ना पाँच शिष्यलाई पहिलो पटक उपदेश दिएको स्थान सारनाथ जानका लागि गयाको रेल्वे स्टेसनमा रेलको टिकट लिन लाग्दा त्यहाँ पनि टिकट लिन आवेदन दिनुपर्ने र टिकट खरिद गर्न बैंक कार्ड वा क्रेडिट कार्डबाट नमिल्ने जवाफ मिल्यो। 
 
विश्वमा उदीयमान अर्थतन्त्रको परिचय बनाउँदै अगाडि बढिरहेको भारत जसले यसै वर्ष २४ सेप्टेम्बरका दिन आफ्नो मंगल यान सफलतापूर्वक मंगल ग्रहमा प्रवेश गराएर इतिहास रचिसकेको छ। 
 
भारतले यो बुझ्नुपर्छ कि आजको विश्व परिस्थितिमा कोही पनि साथमा हजारौंहजार नगद लिएर हिँड्नु सुरक्षित महसुस गर्दैनन्। आधुनिक युगको यस परिस्थितिमा भारत सरकारले भारतीय रेल्वेको टिकट बिक्री प्रणालीलाई सरल र सुविधाजनक बनाउनेतर्फ ध्यान दिन नसक्दा भने हामी घोत्लिन बाध्य भयौं। 
- http://annapurnapost.com/News.aspx/story/4824

No comments:

Post a Comment